तपाईँ सुन्दै हुनुहुन्छः

‘वास्तविक सुकुम्वासी पहिचान गरी सुरक्षित स्थानमा राख्ने सरकारको योजना छ’

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती किनारका सुकुम्बासी बस्ती बाढी तथा विपद्को उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विपद्को पूर्व तयारीका रुपमा बस्ती स्थानान्तरण गर्न लागिएको बताउनुभयो । 

मन्त्री पोखरेलले सरकार सुकुम्वासी बस्तीमा प्रहरी लगाएर जबरजस्ती बल प्रयोग गरेर नभई सराेकारवालाहरुलाई अनुरोध गरेर नै ठाउँ सार्ने तयारीमा रहेको बताउनुभयो । 

मन्त्री पोखरेलले सबै ठाउँको सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकार लागिपरेको उल्लेख गर्नुहुँदै वास्तविक सुकुम्वासी पहिचान गरी सुरक्षित स्थानमा राख्ने योजना रहेको बताउनुभयो । 

यसैबीच सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएका जोशीको गाजाको घटनामा परी मृत्यु भएको थियो ।

यस्तै सरकारले सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने, उच्च अदालत पाटनका न्यायाधीश टङ्कप्रसाद गुरुङलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने लगायतका निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

यस अघि मन्त्रिपरिषद् बैठक बसेकै दिन बैठकका प्रमुख निर्णयहरू सार्वजनिक हुँदै आएकोमा आज पत्रकार सम्मेलन गरी विभिन्न बैठकमा भएका निर्णयहरू सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button