तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज नाकाबाट ९ महिनामा १ खर्ब ४८ अर्ब बढीको इन्धन आयात 

वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक बर्ष ०८२/०८३ को चैत्र मसान्त सम्ममा १ खर्ब ४८ अर्ब १६ करोड मूल्य बराबरको इन्धन आयात भएको छ । 

बिगत केही समय यता मध्यपूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा ८ अर्ब १६ करोड बढीको इन्धन आयात वीरगञ्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले देखाएको छ । 

गत आर्थिक बर्ष ०८१/०८२ मा वीरगञ्ज नाकाबाट १ खर्ब ४० अर्ब १० करोड मूल्य बराबरको इन्धन आयात भएको थियो । 

वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ७८ अर्ब ७९ करोड मूल्य बराबरको डिजेल आयात भएको छ भने सो अवधिमा ३१ अर्ब ८ करोड मूल्य बराबरको पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । 

त्यसैगरी साउन देखि चैत्र मसान्तसम्म वीरगञ्ज नाकाबाट २३ अर्ब ३ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अवधिमा १४ अर्ब ४ करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ ।

त्यसैगरी वीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो । 

गत वर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतबर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ३१ करोड मूल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्याङ्कले देखाएको छ ।

वीरगञ्ज नाकाबाट गत वर्षको ९ महिनामा २८ अर्ब ४१ करोडको एल पी ग्याँस आयात भएको थियो । मध्यपुर्वी देशहरूमा उत्पन्न तनावको कारण डिजेल, पेट्रोल लगायतका इन्धनहरूको आयातमा कमी नआएको भए पनि ग्याँसको आयात भने घटेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button