तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी चिनी उद्योगले बढायो प्रदूषण संकट, स्थानीयबासी आन्दोलनतर्फ

नवलपरासी । सुनवल स्थित लुम्बिनी चिनी उद्योगबाट सृजित प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक युवराज ढकालको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवाला संस्था र स्थानीयवासीको संयुक्त बैठकले उद्योगको प्रदूषण नियन्त्रणमा स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ ।

बैठकले लामो समयदेखि उद्योगबाट निस्किरहेको प्रदूषणका कारण स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र कृषि प्रणालीमा गम्भीर असर परेको उल्लेख गर्दै तत्काल ठोस कदम चाल्न माग गरेको छ । स्थानीय सरकारको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै सहभागीहरूले अब आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

निर्णय अनुसार उद्योगलाई स्थानान्तरण गर्नुपर्ने माग अघि सार्दै तत्काल प्रदूषण नियन्त्रणका लागि दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने जनाएको छ।प्रदूषण नियन्त्रणका लागि विगतदेखि नै पटक पटक छलफल भएपछि सुनुवाइ हुन सकेको छैन । मिलको प्रदूषणले बजार क्षेत्र दुर्गन्धित बनेको छ ।

स्थानीयबासीले उद्योगका कारण वायु र पानी प्रदूषण बढेको, दुर्गन्ध फैलिएको तथा दैनिक जीवन कष्टकर बनेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गर्दै उद्योग नै स्थानान्तरण गर्नु पर्ने शर्त अघि सारेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button