फिदिममा सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता
पाँचथर । पाँचथरको फिदिममा आजदेखि दोस्रो सुम्हात्लुङ कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पाँचथरका गाउँ–गाउँसम्म विकास भएको ब्याडमिन्टन खेललाई प्रवद्र्धन गर्न प्रतियोगिता सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बढ्दो कूलतको लतबाट युवालाई टाढै राख्न तथा स्वस्थ जीवनशैलीका लागि ब्याडमिन्टन खेलको विस्तार आवश्यक भएको बताउनुभयो ।
प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज र गल्र्स ९१५ वर्षभन्दा मुनि र १३ वर्षभन्दा मुनि०, भेट्रान्स, सुपर भेट्रान्स, आन्तरिक ‘बी’ समूह र उदीयमान खेलाडी विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने जिल्ला ब्याडमिन्टन सङ्घका सचिव मङ्गल बेघाले जानकारी दिनुभयो ।
पुरुष डबल्सतर्फको विजेताले रु ५५ हजार तथा उपविजेताले रु २८ हजार, महिला डबल्सका विजेताले रु ४० हजार र उपविजेताले रु २० हजार, भेट्रान्स र सुपर भेट्रान्स विधाका विजेताले रु ४० हजार र उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल र भारतका गरी २०० जनाभन्दा बढी खेलाडी सहभागी छन् ।
जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तेजबहादुर तुम्बापोका अनुसार यस वर्ष प्रतियोगिता सम्पन्न गर्न हालसम्म रु आठ लाख सहयोग सङ्कलन भएको छ । रु सात लाखभन्दा बढी सहयोग गर्न संस्थागत प्रतिबद्धता आएको उहाँले बताउनुभयो । फिदिममा अवस्थित ऐतिहासिक एवम् धार्मिक स्थल सुम्हात्लुङसहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न, ब्याडमिन्टन खेलको संस्थागत विकास तथा खेलाडीको हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडीहरू दुर्गा सारु मगर र कृष्ण तामाङ तथा स्वर्गीय रामवीर राई, दलकर्ण राई र गोपाल सिलवालका परिवारजनलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्