अत्यधिक गर्मीका लागि पूर्वतयारी कार्ययोजनाको मस्यौदामाथि छलफल

काठमाडौँ । अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजना २०८३ को मस्यौदा माथि आज छलफल भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, विभिन्न विकास साझेदार सङ्घसंस्था तथा सरोकारवालाहरूबिच कार्ययोजना मस्यौदामाथि छलफल गरेको हो ।
मस्यौदामाथिको छलफलमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सही सूचनाको प्रवाह गर्दै पूर्वतयारी र प्रतिकार्य कार्यान्वयनका लागि सबैको समन्वय र सहयोग आवश्यक रहेको बताउनुभयो ।
यस्तै छलफलमा सहभागीहरूले पूर्वतयारी तथा पूर्व सूचना प्रवाहका कार्य प्रभावकारी बनाउनुपर्ने, अत्यधिक गर्मीबाट जोगिन परम्परागत ज्ञानलाई प्रवर्द्धन गर्न र यसको दीर्घकालीन समस्या समाधानका लागि कार्ययोजना बनाइनुपर्नेमा जोड दिनुभयो ।
मस्यौदामा अत्यधिक गर्मीले शिक्षा, स्वास्थ्य, कृषि पशुपन्छी, आवास तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा प्रभाव पर्ने उल्लेख गर्दै यसका लागि पूर्वतयारीका कार्य र शीघ्र प्रतिकार्यलाई प्राथमिकिकरण गर्दै यसको जिम्मेवार तथा सहयोगी निकायहरू पहिचान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्