तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीको बजेट तयारी: ’प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताउनुभएको हो ।

उहाँले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहोर्‍याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिनुभयो । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पुर्‍याउने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । ‘आगामी वर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौँ । आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ’उहाँले भन्नुभयो,‘पहिलो प्राथमिकता प्रदेश गौरव र बहुबर्षिय आयोजनालाई राख्नेछौँ । 

मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताउनुभयो । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उहाँले बागमती प्रदेशपछि राजश्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटको तयारीका विषयमा विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन जारी रहेको बताउनुभयो । यो कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button