नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकी विरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
यहाँस्थित चिनियाँ दूतावासले आज साँझ यहाँ आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
अर्थमन्त्री डा.वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्ष सुनाउनुभयो । उहाँले भित्री मङ्गोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदान प्रदानका निम्ति महत्वपूर्ण छ भन्नुभयो ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको बताउनुभयो ।
“राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको छ”, उहाँले भन्नुभयो ।
चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौँ सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।
नेपालमा चिनियाँ बैङ्क स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी रहेको बताउँदै उहाँले नेपालको चौतर्फी विकासका निम्ति दृढ सङ्कल्पका साथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिनुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले एक चीन सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै पञ्चशीलका सिद्धान्तमा आधारित दुई देशबीचको यो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको भरपर्दो विकास साझेदार चीनबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । दुई देशबीचको विद्यमान सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष भण्डारीले सात दशक पुरानो नेपाल–चीन सम्बन्ध आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पनि सघन हुँदै गएकामा प्रसन्नता प्रकट गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपालमैत्री तथा सहयोगका निम्ति नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपालको संस्कृति एवं प्राकृतिक सौन्दर्यबाट आफू मन्त्रमुग्ध भएको बताउनुभयो ।
चीन–नेपाल रणनीतिक साझेदारीलाई अनन्तकालसम्म चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले ‘बेल्ट एण्ड रोड’का माध्यमबाट नेपालको विकास प्रयासमा अझ सहयोग गर्ने चिनियाँ चाहना सुनाउनुभयो । हालै चीनले पारित गरेको १५औँ पञ्चवर्षीय योजना चीनको विकासका निम्ति मात्र नभई छिमेकी राष्ट्रहरूको उन्नयनमा पनि सहयोगी हुने विश्वास राजदूत चाङले व्यक्त गर्नुभयो ।
जनस्तरको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने दृढता दोहो¥याउँदै उहाँले विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसअवसरमा भित्री मङ्गोलियाका लोक संस्कृति, गीतसङ्गीत भित्री मङ्गोलिया स्वायत्त प्रदेशका कलाकारहरूले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पूर्वसभामुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका चिनियाँ तथा समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्