तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ ।

राप्ती उपत्यका (देउखुरी) स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा उहाँले आगामी अधिवेशनहरूमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । प्रदेश सभामा जनताका समस्या, विकासका प्राथमिकता र नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले योजना छनोटमा सक्रिय सहभागिता जनाउने, कार्यान्वयनको अनुगमन गर्ने र पार्टी सङ्गठन सुदृढीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । विगत अधिवेशनहरूको अनुभवलाई आधार बनाएर आगामी दिनमा अझ प्रभावकारी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकले यसअघि संसदीय बोर्डले गरेका निर्णयहरू अनुमोदन गरेको छ । साथै, संसदीय बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, इन्द्रा गहतराज, बसन्ती न्यौपाने लगायतले धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button