इन्धन मूल्यवृद्धिले कृषि क्षेत्रमा असर : ट्याक्टर महँगो, गोरु हराए
उदयपुर । खेतीको सिजन नजिकिँदै गर्दा उदयपुरका किसानहरू खेतीको तयारीभन्दा बढी इन्धनको चिन्तामा देखिन थालेका छन् ।

पछिल्लो समय किसानहरू ट्याक्टर, थ्रेसर, रिपरजस्ता उपकरणमा आत्मनिर्भर हुन थालेपछि गाउँमा गोरु हराउन थालेका छन् । उता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि डिजलमा निर्भर आधुनिक कृषि प्रणाली नै सङ्कटतर्फ धकेलिने सङ्केत देखिएको छ । यसले रोपाइँ सिजन प्रभावित हुने जोखिम समेत बढाएको कृषकहरू बताउँछन् ।
पछिल्लो दशकमा जिल्लाभर तीव्र रूपमा बढेको कृषिको यान्त्रीकरण अहिले किसानकै लागि चुनौती बन्न थालेको छ । ट्याक्टर, थ्रेसर, रिपरजस्ता उपकरणले खेती सहज बनाएको भए पनि बढ्दो डिजल मूल्यका कारण ती उपकरण प्रयोग गर्न कठिन बन्दै जाँदा किसान मार्कामा पर्न थालेका हुन् । किसानहरू फेरि परम्परागत हल गोरुको विकल्पतर्फ फर्किने कि आधुनिक प्रणालीमै टिक्ने भन्ने दोधारमा परेका छन् ।
चौदण्डीगढी नगरपालिका–६ का कृषक रमेश विष्टले केही वर्षअघिसम्म ट्याक्टर प्रयोगलाई आफ्नो खेतीको सबैभन्दा ठूलो सहारा मान्नुभएको थियो । तर अहिले अवस्था फेरिएको छ ।
“पहिला ट्याक्टर आएपछि खेती सजिलो भयो भन्ने लागेको थियो,” विष्टले भन्नुभयो, “तर अहिले डिजेलको मूल्य आकासिएपछि फेरि पुरानै तरिकामा फर्किनुपर्ने अवस्था आउने जस्तो देखिन्छ ।”
जिल्लाकै उदयपुरगढी गाउँपालिका–१ का कृषक मनोज खत्रीका अनुसार गाउँमा गोरु पाल्ने चलन लगभग हराइसकेको छ । अहिले अधिकांश किसान ट्याक्टरमै निर्भर हुनुहुन्छ ।
“असार वा भनौँ खेतीको सिजन नजिकिँदै छ, तर डिजेलको मूल्य हेर्दा खेती कसरी गर्ने भन्ने चिन्ता बढेको छ,” उहाँ भन्नु हुन्छ, “गोरु छैन, ट्याक्टर महँगो भयो ।”
जिल्लाका पहाडी र तराई क्षेत्र दुवैमा यान्त्रिक उपकरणको प्रयोग बढेसँगै खेतीको स्वरूप परिवर्तन भएको थियो । केही घण्टामै बिघौँ जमिन जोत्न सकिने, श्रमिक खर्च घट्ने र समय बचत हुने भएकाले किसानहरू यन्त्रतर्फ आकर्षित भएका थिए । तर अहिले त्यही निर्भरता पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै चुनौती बन्दै गएको छ ।
त्रियुगा नगरपालिका–१३ का कृषक शिव दाहालका अनुसार खेतीपातीमा यन्त्र प्रयोगले सहजता ल्याए पनि खर्च नियन्त्रण बाहिर जान थालेको छ । “ट्याक्टर बिना खेती कल्पना गर्न गाह्रो भइसकेको छ तर अहिलेको मूल्यले विकल्प सोच्न बाध्य बनाएको छ दाहालले भन्नुभयो ।
चौदण्डीगढी नगरपालिका–९ का प्रकाश राउतका अनुसार वडा क्षेत्रमा करिब ९० प्रतिशत किसानले ट्याक्टर प्रयोग गर्दै आएका छन् । अहिलेको मूल्यवृद्धिले ती सबै किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । “यस्तो अवस्था लामो समय रह्यो भने उत्पादन लागत निकै बढ्नेछ,” राउतले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लाका करिब ९० प्रतिशत भन्दा धेरै किसान यान्त्रिक उपकरणमा निर्भर छन् । इन्धन मूल्य अस्थिर भइरहे कृषिमा यान्त्रीकरणको गति सुस्ताउने मात्र होइन, उत्पादनमा पनि असर पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
कृषकहरूका अनुसार यदि डिजेलको मूल्य नियन्त्रणमा नआएमा आगामी रोपाइँ सिजन नै प्रभावित हुन सक्छ । यसले उत्पादन घट्ने र त्यसको असर बजार मूल्य हुँदै उपभोक्तासम्म पुग्ने निश्चितजस्तै देखिएको छ । त्यसैले अहिले किसानहरूका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ, आधुनिक यन्त्रको सहारा लिने कि फेरि हल गोरुको बाटो समाउने?








प्रतिक्रिया राख्नुहोस्