विधिको शासन पालनामा सरकार पनि गम्भीर हुनुपर्छ: कांग्रेसका सभापति थापा
विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान कार्यान्वयन, विधिको शासन कायम गर्ने र सुशासनको विषयमा सरकारलाई नेपाली कांग्रेसको निरन्तर साथ र सहयोग रहने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले संविधान कार्यान्वयन, सुशासन, कानुनको पालना र जनजीविकाका सवालमा गम्भीर रहेको बताउनुभयो । उहाँले संघीय संसद्मा कांग्रेस प्रतिपक्षमा रहे पनि सातै प्रदेशमा सरकारमा रहेको र स्थानीय तहमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएकाले पार्टीको काँधमा विशेष जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
सभापति थापाले देश र जनताको भावना विपरीत हुने कुनै पनि विषयलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले गरेका राम्रा कामहरूमा सहयोग रहने तर तथ्यमा आधारित भएर गलत कामहरूबारे प्रश्न उठाइने बताउनुभयो ।
भदौ २४ गते भएको घटनाको छानबिनका लागि तत्काल आयोग गठन गर्नुपर्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो । साथै, सरकारले केही निर्णय हतार र अपरिपक्व ढंगले गरेको देखिएकाले ती निर्णय सच्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
पार्टी एकताबारे सोधिएको प्रश्नमा उहाँले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । आगामी १५औँ महाधिवेशनले पार्टीलाई थप सुदृढ र सशक्त बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्