तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै विक्री केन्द्र स्थापना, किसानको मेहनतको मूल्य सुनिश्चित हुने संकेत

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–९ उम्गाडमा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएपछि स्थानीय किसानलाई राहत पुगेको छ। बजार अभावका कारण बिहानै डोकोमा बोकेर बजारका गल्ली–गल्ली धाउनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै उपज विक्री गर्न सहज भएको किसानहरूले बताएका छन्। अगुवा किसान तुलराज गिरीका अनुसार मौसमी तथा बेमौसमी उत्पादन गाउँमै थन्किने समस्या कम हुँदै गएको छ र उत्पादित वस्तुको बजारीकरण सहज बन्न थालेको छ।

नर्वे सरकार र युएनडीपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजनामार्फत चन्दननाथ नगरपालिकाको सहकार्यमा उक्त केन्द्र स्थापना गरिएको हो। केन्द्र सञ्चालनपछि किसानमा उत्साह बढेको र केही हदसम्म बजार सुनिश्चित भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। उहाँले दिगो व्यवस्थापनका लागि स्थानीय तहले नीति निर्माणमा ध्यान दिनुका साथै किसानले उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

उम्गाडका करिब एक सयभन्दा बढी किसान समूह बनाएर व्यावसायिक खेतीमा संलग्न छन्। उनीहरूको मागअनुसार केन्द्र स्थापना गरिएको हो। नगरप्रमुख राजुसिंह कठायतले केन्द्रको दिगो सञ्चालन, उत्पादन वृद्धि र साप्ताहिक हाट बजार सञ्चालनलाई अघि बढाइने जानकारी दिनुभयो। जुम्लामा उत्पादन राम्रो भए पनि बजार अभावको समस्या रहेकाले अन्य पालिकामा पनि यस्ता केन्द्र विस्तार गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button