तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रगढी महिला गोल्डकप : पुलिसको सहज जीत, आयोजक बाहिरियो 

झापा । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जीत निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ ।

क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसको जीतमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो ।

खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गरिन् । ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्य भागबाट सिङ्गल खेल्दै गोल गरिन् ।

पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्को गोल थपिन् । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । 

खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलि मङ्गलवारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र ओखलढुङ्गाको पदमा स्पोर्टिङ क्लबबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button