तपाईँ सुन्दै हुनुहुन्छः

मुनश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा जारी

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा जारी पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०८३ को तेस्रो दिन(सोमबार) विभिन्न उमेर समूहका क्वाटर फाइनल, सेमिफाइनल तथा फाइनलका खेलहरू सम्पन्न भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन यू–९ ब्वाइजतर्फ भएको फाइनल खेलमा सर्वज्ञ खत्री विजेता हुनुभएको छ । उहाँले सोमबार भएको फाइनल खेलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गर्नुभएको हो । 

यू–१४ गर्ल्स सिंगल्स क्वाटर फाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । यू–१६ ब्वाइज सिंगल्स सेमिफाइनलमा सन्दीप बि.के.ले सुरेन्द्र बि.केलाई कडा प्रतिस्पर्धामा ५–७, ७–५, ६–४ ले हराउँदै फाइनल यात्रा तय गर्नुभयो ।

यू–१० ब्वाइजतर्फ कायान चालिसेले आयान पन्तलाई ६–०, ६–१ को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गर्नुभयो । त्यस्तै, यू–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले सभ्यजङ्ग कार्कीलाई २–६, ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । आरित मल्लले यू–१२ ब्वाइजतर्फ उत्कृष्ट प्रदर्शन गर्दै शान्श बस्नेतलाई ६–१, ६–१ ले पराजित गर्नुभयो । यू–१२ गर्ल्सतर्फ सारा पन्ताले थिया श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्नुभयो ।

यू–१२ गर्ल्स सेमिफाइनलमा नाइरा घलेले ताभिसी रानालाई ६–०, ६–४ ले पराजित गर्दा यू–१० ब्वाइज सेमिफाइनलमा सोनाम घलेले जीवाश भट्टराईमाथि ६–१, ६–३ को जित निकाल्दै फाइनलमा बनाउनुभयो । यू–१६ ब्वाइज सेमिफाइनलमा स्पन्दन उदासले डोजन गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा यू–१४ गर्ल्स सेमिफाइनलमा सारा पन्ता र शोरा थापा दुवैले सोझो सेटमा जित निकाल्दै फाइनल नजिक पुग्नुभयो ।

यही बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल भोली (मङ्गलवार) हुने प्रतियोगिताका संयोजक लोक बहादुर गुरुङले जानकारी दिनुभयो । विभिन्न उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा भएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर कुमार अधिकारीले बताउनुभयो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गर्नुभएको हो । आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्षदेखि उहाँले प्रायोजन गर्दै आएको आउनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button