गण्डकी प्रदेशमा एक महिनामा ४४ सवारी दुर्घटना, २४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा एक महिनामा ४४ सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराले दिएको तथ्याङ्क अनुसार गत चैत महिनामा गण्डकी प्रदेशका विभिन्न राजमार्ग क्षेत्रमा ४४ वटा सवारी दुर्घटना हुँदा १८ पुरुष सहित २४ जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी ४ महिला र २ बालकको मृत्यु भएको छ भने ५० जना घाइते हुनुभएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराका प्रहरी निरीक्षक एवं नि.सूचना अधिकारी थानेश्वर चपाईले बताउनुभयो । तीव्र गति, मादक पदार्थ सेवन, चालकको असक्षमता, सडकको अवस्थाले गर्दा सडक दुर्घटना भएको उहाँको भनाई थियो । तीव्र गतिका कारण मात्रै २१ दुर्घटना भएका छन् भने मापसेका कारण ६ दुर्घटना भएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ७ सय ९६ सवारी साधनमाथि कारबाही गर्दा १ करोड १९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको चैत महिनाको प्रगति विवरण सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरीले विभिन्न समुदाय तथा विद्यालयमा २ हजार ९ सय ७५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा करिब १ लाखभन्दा बढी नागरिक लाभान्वित भएको कार्यालयले जनाएको छ । विद्यालय, कलेज, चालक तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्