‘जीतगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न पहल भइरहेको छ’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल भइरहेको बताउनुभएको छ । बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा विकास गर्न तथा जीतगढी विजय उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा प्रदेश सरकारका तर्फबाट किल्लाको संरक्षण, प्रवर्द्धन र विकासका लागि निरन्तर प्रयास रहने उल्लेख गर्नुभयो । जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रुपन्देही जिल्लालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको बताउँदै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि अग्रजहरूले गरेको बलिदानको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा प्राप्त भएको विजय नेपालीका लागि गर्वको विषय भएको उहाँले उल्लेख गर्नुभयो । जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण सबै नेपालीको दायित्व भएको उहाँको भनाइ थियो ।
कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यसको संरक्षणका योजना बताउनुभयो । कार्यक्रममा इतिहासविद् देवेन्द्रराज शाक्यले जीतगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो भने उपप्रमुख सावित्रा अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको छ । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
वि।सं। १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो । उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अङ्ग्रेज फौजलाई पराजित गरेको इतिहास छ । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए ।
उक्त युद्धमा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गर्नुभएको थियो ।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जीतगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अङ्ग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा किल्लाको नाम ‘जीतगढी’ रहन गएको हो







प्रतिक्रिया राख्नुहोस्