वीरगञ्ज मुख्य सडक विस्तार : सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर
वीरगञ्ज। वीरगञ्जको मुख्य सडक विस्तार अभियानका क्रममा आधारभूत सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ । खानेपानी, विद्युत्, इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएपछि मेनरोड क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।
सडक विस्तारका क्रममा पूर्वतयारीबिना संरचना भत्काइएकाले विद्युत् लाइन र खानेपानी पाइप क्षतिग्रस्त भएको स्थानीयको गुनासो छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लाइन अवरुद्ध हुँदा तीन दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने अवस्था देखिएको छ ।
विद्युत् अभावका कारण गर्मीमा घरभित्रको जीवन कष्टकर बनेको छ । पंखा र कुलर नचल्दा बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन् । रातको समयमा मुख्य बजार क्षेत्र अन्धकारमय हुँदा सुरक्षाको चिन्ता पनि बढेको स्थानीयले बताएका छन् ।
खानेपानी आपूर्ति ठप्प भएपछि दैनिक सरसफाइ र पिउने पानीको समस्या पनि गम्भीर बनेको छ । बिजुली नहुँदा मोटर नचल्ने र बोरिङबाट पानी निकाल्न नसकिने अवस्था छ ।
आदर्शनगरका व्यवसायी मुकेश सरावगीले पूर्वतयारीबिनै डोजर चलाइएकाले ठूलो समस्या भएको गुनासो गर्नुभयो । उहाँले अत्यधिक गर्मीमा पानी र बिजुली दुवै नहुँदा जीवनयापन कठिन बनेको बताउनुभयो ।
मानवअधिकारकर्मी कृष्ण खनालले सडक विस्तार विकासका लागि आवश्यक भए पनि कार्यान्वयन शैली र वैकल्पिक व्यवस्थापनमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्