जितगढी किल्लाको पुनर्जागरण : राष्ट्रिय गौरवदेखि प्रमुख पर्यटकीय गन्तव्यतर्फ रूपान्तरण
रूपन्देही । केही वर्ष अघिसम्म ओझेलमा परेको ऐतिहासिक जितगढी किल्ला पछिल्लो समय पुनर्जागृत हुँदै राष्ट्रिय स्वाभिमानको प्रतीकसँगै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

वि.सं. १८७१–७२ मा इष्ट इण्डिया कम्पनीसँग भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा ऐतिहासिक विजय हासिल गरेको थियो । उक्त विजयले नेपाललाई औपनिवेशिक विस्तारबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको इतिहासकारहरूको भनाइ छ । सोही विजयको स्मरणमा हरेक वर्ष वैशाख ७ गते जितगढी विजय उत्सव मनाउने परम्परा रहिआएको छ ।

बुटवल उपमहानगरपालिका–१ मा अवस्थित यो किल्ला कुनै समय अतिक्रमणको चपेटामा परेको थियो । तिनाउ नदीमा बनेको पुलको प्रभावले किल्ला क्षेत्र संकटमा परेको अवस्थामा पछिल्ला वर्षमा स्थानीय सरकारको पहलमा संरक्षण, पुनःसंरचना र सौन्दर्यीकरणका काम अघि बढाइएको छ ।
बुटवल उपमहानगरपालिकाले गुरुयोजनाअनुसार किल्लालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ । नगरप्रमुख खेलराज पाण्डेयका अनुसार यसलाई राष्ट्रियस्तरको नमुना पर्यटकीय स्थल बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

हाल किल्ला परिसरमा उजिरसिंह थापाको नौ फिट अग्लो तामाको पूर्णकदको सालिक, ५५ फिट अग्लो टावरमा राष्ट्रिय झण्डा तथा कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । साथै सहिद सैनिकहरूको अर्धकदका सालिकहरूले ऐतिहासिक स्मृतिलाई जीवन्त बनाएको छ ।
अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका १३ जना सैनिकहरूको सम्मानमा निर्माण गरिएका सालिकहरूले किल्लाको ऐतिहासिक महत्वलाई थप उजागर गरेका छन् ।

उपमहानगरपालिकाले अतिक्रमण हटाएर किल्लाको मौलिक स्वरूप संरक्षण गरेको छ । हालसम्म आठ करोड १२ लाखभन्दा बढी लागतमा संरचना निर्माण सम्पन्न भइसकेका छन् भने चालु आर्थिक वर्षमा आरती केन्द्र निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेतका अनुसार किल्ला क्षेत्रमा सरसफाइ, सूचना बोर्ड र ऐतिहासिक सामग्री प्रदर्शनमार्फत पर्यटकलाई इतिहास बुझ्न सहज बनाइएको छ । आगामी चरणमा युद्ध सङ्ग्रहालय, सूचना केन्द्र तथा पुरानो बुटवललाई ऐतिहासिक बजारका रूपमा पुनर्जीवित गर्ने योजना अघि बढाइएको छ ।
इतिहासकार सोमध्वज विष्टका अनुसार जितगढी किल्ला सेनकालीन संरचना हो, जुन तिनाउ नदी किनारमा करिब पाँच सय वर्गफिट क्षेत्रमा फैलिएको छ ।
ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक पूर्वाधार थपिँदै जाँदा जितगढी किल्ला लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पर्यटन अध्येता युवराज कंडेलले यसको ऐतिहासिक महत्व अझ व्यापक रूपमा प्रचार हुन नसकेको बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्