तपाईँ सुन्दै हुनुहुन्छः

झापाले दोस्रो पटक विराट गोल्डकप जित्यो

मोरङ । झापा ११ ले विराटनगरमा सम्पन्न ३८औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले हराउँदै झापाले दोस्रो पटक उपाधि हात पारेको हो।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ पायो। यसअघि २०७१ सालमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलो पटक उपाधि जितेको थियो।

झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे। सम्राटकातर्फबाट सौरभ तामाङले एक गोल फर्काए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ८१औं मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारको लामो पासलाई उनले जाली चुमाए। त्यसको ६ मिनेटपछि दिवस उराउले फागुराम थारूको पासमा गोल गर्दै झापाको जित सुनिश्चित गरे। इन्जुरी समयमा सौरभ तामाङले गोल गरे पनि सम्राट हारबाट जोगिन सकेन।

पहिलो हाफमा दुवै टोलीले अवसर गुमाएका थिए। १६औं मिनेटमा सम्राटका सुरज तामाङको प्रहार झापाका गोलरक्षक विशाल सुनारले बचाए। त्यसलगत्तै झापाका सुलमान किङको प्रहार बाहिरियो। दोस्रो हाफमा झापा आक्रामक देखिएको थियो।

फाइनलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए। उनले ११ हजार रुपैयाँ पाए। झापाकै फागुराम थारू ३ गोलसहित प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने।

सम्राटका अशोक खवास प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले ५१ हजार रुपैयाँ पाए। झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पाए।

विजेता तथा उपविजेतालाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button