तपाईँ सुन्दै हुनुहुन्छः

कटहरियामा विद्युत् लाइन काटिँदा १६ सय परिवार खानेपानीबाट वञ्चित

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १६ सय परिवार खानेपानी सेवाबाट वञ्चित भएका छन् । 

विद्युत् महसुल नबुझाइएका कारण नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाले नगरपालिका कार्यालय तथा वडा नं. ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत् लाइन काटेपछि समस्या उत्पन्न भएको हो ।

तीन दिनअघि प्राधिकरणको टोलीले खानेपानी उपभोक्ता समितिको विद्युत् मिटर हटाएको थियो भने त्यसपछि नगरपालिकाको कार्यालयको विद्युत् लाइनसमेत काटिएको जनाइएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ भने चर्को गर्मीका बीच कटहरिया–४ र ५ का स्थानीयवासी खानेपानी अभाव झेल्न बाध्य भएका छन् ।

वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले विद्युत् महसुल समयमै भुक्तानी नगर्दा यस्तो अवस्था सिर्जना भएको बताउँदै यसप्रति दुःख व्यक्त गर्नुभयो। उहाँका अनुसार मेयर अजय प्रकाश जैसवालको लापरवाहीका कारण सेवाग्राहीहरू समस्यामा परेका छन् । वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ताले पनि यसअघि समेत पटक–पटक विद्युत् लाइन काटिँदै आएको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण मौलापुरका प्रमुख उमेश दाशका अनुसार नगरपालिकाले करिब ७३ हजार रुपैयाँ तथा खानेपानी उपभोक्ता समितिले १३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी विद्युत् महसुल तिर्न बाँकी छ। बारम्बार ताकेता गर्दा पनि भुक्तानी नभएकाले मिटर हटाउनुपरेको उहाँले बताउनुभयो । यद्यपि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार सेवा प्रभावित हुन सक्ने भन्दै त्यहाँको विद्युत् लाइन भने नकटाइएको उहाँको भनाइ छ ।

कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले नगरपालिकातर्फको बक्यौता रकम दुई दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर खानेपानी उपभोक्ता समितिको बक्यौता भने नगरपालिकाले तिर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले नगरपालिकाले पानी महसुल निःशुल्क घोषणा गरेकाले सोहीअनुसार विद्युत् महसुल पनि पालिकाले तिर्नुपर्ने माग गर्नुभयो। यसअघि पनि पालिकाले नै उक्त शुल्क भुक्तानी गर्दै आएको उहाँको भनाइ छ ।

बढ्दो गर्मीका कारण पानीको अभाव झन् गम्भीर बन्दै गएको भन्दै स्थानीय उपभोक्ताहरूले तत्काल विद्युत् महसुल तिर्न माग गरेका छन् । माग सम्बोधनमा ढिलाइ भए आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button