तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक दफावार छलफलकालागि समितिमा पठाइयो

दाङ । लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।

सातौं अधिवेशनको आज बसेको १२ औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।

बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरे । यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा गरिन् । सातौं अधिवेशनको १३ औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ । आज बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले संघीय सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने तयारीप्रति खबरदारी गरेका छन् ।

प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी सङ्गठन नभई शिक्षा प्रणाली नै रहेको जिकिर गरे ।

बैठकमा प्रदेश सभा सदस्यहरु बसिउद्दिन खाँ, मिनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी, चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button