तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक तथा वाह्रय पर्यटकको रोजाइमा होमस्टे

विराटनगर । परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन र न्यानो आतिथ्य सेवाले धनकुटाको सागुरीगडी गाउँपालिकामा सञ्चालित होमस्टे पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ  । 

समुन्द्र सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको सो पालिकाको वडा न –५ स्थित डाँडा बजार तथा वडा  न ६ को नाम्जे थुम्कीमा ६० घर होमस्टे सञ्चालनमा छन् । छिनछिनमा हुन मौसम परिवर्तन, अर्ग्यानिक खानाको स्वाद र पाहुनाका सम्मानमा हुने सांस्कृतिक कार्यक्रमले  होमस्टेमा पुग्ने जो कोहीको  मन फुरुङ हुने गर्दछ । 

मगर समुदायले नाम्जे थुम्कीमा संयुक्त रुपमा  १९ घरधुरीमा होमस्टे सञ्चालनमा ल्याएका छन् । परिवारको जस्तो गरिने व्यवहारले त्यहाँ जाने पाहुनालाई निकै प्रभावित बनाउने गरेको छ ।  सदरमुकाम तथा व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि पारिवारिक वातावरण र परम्परागत सुविधा पाउनका लागि अहिले अधिकांश पर्यटकले होमस्टेलाई नै आफ्नो गन्तव्य बनाउदै आएका छन् ।

होमस्टे सञ्चालन भएका पुर्वी पहाडी जिल्लाका  गाउँ बस्तीमा मटर बाटो पुगेपछि स्थानीय तथा वाह्रय पर्यटक बास बस्न  होमस्टे पुग्ने गरेका छन् । 

डाँडा बजार तथा नाम्जे थुम्कीमा रहेका होमस्टेमा वार्षिक ६०  हजारको हाराहारीमा आन्तरिक तथा वाह्रय पर्यटनहरू  बास बस्न आउने गरेका छन् । पछिल्लो समय  स्वदेशी तथा विदेशी पाहुनाको  होमस्टेप्रति आकर्षण बढेको  डाँडा बजार स्थित  सुनाखरी होमस्टेका सञ्चालक दिपक बस्नेतको भनाई छ । विराटनगर, धरान, इलाम तथा  पोखरा लगायत छिमेकी राष्ट्र भारत सहित तेस्रो मुलुकबाट पर्यटक होमस्टे बास बस्ने आउने गरेको उहाँको भनाई छ । 

एसइई परीक्षा सकिएपछि साथीहरूसँग रमाइलो गर्न होमस्टे आएको  सुनसरी धरान–१५ का अर्पण मगरको भनाई छ । सहरको होटलमा भन्दा गाउँको होमस्टेमा बास बस्न आनन्द हुने भएकाले  साथीहरूसँग रमाइलो गर्न आफूहरू होमस्टे आएको उहाँको भनाई छ ।

धनकुटाको भेडेटारदेखि केही पूर्व रहेको नाम्जे थुम्कीका होमस्टे १२ महिना पाहुनाहरू आउने भए पनि सो ठाउँमा पर्याप्त खानेपानी, बाटोघाटो तथा सडक बत्तीको भने समस्या छ ।

सागुरीगडी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले होमस्टेलाई व्यवस्थित बनाउन पूर्वाधार निमार्णमा पालिकाले जोड दिएको बताउनुभयो ।  मोटरको प्रयोग गरेर मुहानबाट डाँडामा खानेपानी पुर्‍याउनुपर्ने भएकाले लाइन जाँदा समस्या हुने गरेकोले त्यस्लाई व्यवस्थित गर्नेतर्फ गाउँपालिका लागेको अध्यक्ष राईको भनाई छ ।

सामुदायिक होमस्टेलाई सरकारले सहयोग गर्दै आएको छ । समुदायमा सञ्चालित होमस्टे लाई स्थानीय तथा प्रदेश सरकारले फर्निचर देखि भाडाकुडा साथै सामुदायिक भवन निमार्णमा सहयोग गर्दै  आएको छ । डाँडा बजार सामुदायिक होमस्टेका कोषाध्यक्ष सिता घिमिरेले धरान पर्यटन कार्यालयमा विधिवत् रुपमा दर्ता भएपछि सञ्चालनमा आएका सामुदायिक होमस्टेले सो कार्यालय तथा प्रदेश र स्थानीय सरकारबाट सहयोग पाइरहेको बताउनुभयो ।

यस क्षेत्रमा आउने पर्यटकहरूका लागि अहिलेको प्रमुख समस्या भनेको पाँचथर जिल्लाकालाई जोडने निमार्णाधिन अवस्थामा रहेको रवी–राँके सडक खण्ड हो । सो सडकखण्डको नाम्जेमा माथिबाट निरन्तर पहिरो खस्ने हुँदा सवारी साधन सञ्चालनमा  अवरोध हुँदा पर्यटकहरूलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button