तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता पोखरामा सुरु

पोखरा । पोखरामा पाँचौँ संस्करणको मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०८३ सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस सेन्टरमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा यात्रा तय गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा यू–१८ ब्वाइज तर्फ सेमिफाइनल समीकरण पुरा भएको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताउनुभयो । सो उमेर समूहमा दर्शिल श्रेष्ठ र स्पन्दन उदास तथा शाश्वत बज्राचार्य र सुरेन्द्र बिकले सेमिफाइनलमा स्थान बनाउनुभयो । यस अघि भएको खेलमा दर्शिलले संगम मगरलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा शाश्वतले सन्दिप विकलाई ६–०, ५–७ र ६–० को सेटमा पराजित गर्नुभएको थियो । स्पन्दनले अभिषेक विकलाई ६–०, ६–० को सोझो सेटमा हराउँदा सुरेन्द्र भने वाई पाएर सेमिफाइनलमा यात्रा बनाउनुभएको हो ।  

त्यसै गरी यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शाल्भी शेरचन तथा आरुषी शेरचन र सोराह थापाले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । 

बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ र केन्द्रिय सदस्य विष्णु बहादुर थापाले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष कायस्थले यो प्रतियोगिताले युवा खेलाडीमा उत्साह जगाएको बताउँदै अब पोखरामा वार्षिक ५ वटा जुनियर प्रतियोगिता आयोजना गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक लोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नं १ टेनिस खेलाडी प्रदीप खड्काले टेनिस खेलको नेपालमा पदकको राम्रो सम्भावना रहेको चर्चा गर्नुभयो ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा सुरु भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित करिब ९० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गर्नुभएको छ । उहाँले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आउनुभएको हो । 

प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button