तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रीद्वारा सीमा सुरक्षा र भन्सारबारे मधेसका सांसदसँग छलफल

वीरगञ्ज। गृहमन्त्री सुदन गुरुङले सीमा क्षेत्रमा हुनेगरेको  आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र भन्सार प्रणाली सुधारका विषयमा मधेस प्रदेशका निर्वाचित सांसदहरूसँग छलफल गर्नुभएको छ । 

छलफलमा सांसदहरूसँग गृहमन्त्री गुरुङले सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा भन्सार प्रणाली सुधारका उपायबारे आफूहरूसँग सुझाव लिनुभएको पर्सा क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद हरि पन्तले बताउनुभयो । 

छलफलका क्रममा सांसदहरूले विद्यमान भन्सार प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भन्सार दर पुनरावलोकन गर्नुपर्ने, सीमामा निगरानी तथा अनुगमन संयन्त्रलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएको पन्तले बताउनुभयो । साथै, कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सरल बनाउनुपर्ने तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित हदसम्म भन्सार छुट दिने मापदण्ड बनाउनुपर्ने प्रस्ताव पनि उठाइएको सांसद पन्तले जानकारी दिनुभयो । 

सो अवसरमा मधेस प्रदेशका सांसदहरूले भारतसँग खुल्ला सिमानाकाको कारण तस्करी नियन्त्रणको बहानामा सर्वसाधारण नागरिकले सिमावर्ती भारतीय बजारबाट सय रुपैयाँ भन्दा बढीको दैनिक उपभोग्य सामान ल्याउँदा केही दिनयता समस्या झेल्नु परेको विषय उठाउनु भएको थियो । 

मधेश प्रदेशका जनप्रतिनिधिहरूले विशेषगरी सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएको पन्तले बताउनुभयो । 

छलफलमा उठेका विषयप्रति प्रतिक्रिया दिनुहुँदै गृहमन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा आवश्यक समन्वयमार्फत समाधान खोजिने बताउनुभएको पन्तले जानकारी दिनुभयो । 

छलफल कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button