तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा भोलि (शनिबार) देखि पोखरामा ‘पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सुरु हुने भएको छ । वैशाख ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ इभेन्टमा करिब ९० खेलाडीले प्रतिस्पर्धा गर्ने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले बताउनुभयो । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

देशभरबाट सहभागी हुने खेलाडीमध्ये कास्कीका मात्र १५ जना रहेको उहाँले जनाउनुभयो । करिब ३ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताहरूलाई मेडल, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजन खेलप्रेमी कुमार मोहनबहादुर शाहीले आफ्ना नाति–नातिनीको सम्मानमा गर्दै आउनुभएको हो ।

काठमाडौँ, चितवन, बुटवल र पोखराका खेलाडीहरूको सहभागिताले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button