अतिक्रमित जग्गामा पालिकाको डोजर, प्रशासनिक भवन निर्माण प्रक्रिया तीव्र
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाले अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराउँदै प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

नगरप्रमुख विनोदप्रसाद कुर्मीको नेतृत्वमा नगरपालिकाले वर्षौंदेखि अतिक्रमण गरी बसोबास गर्दै आएका दुई परिवारको घर शुक्रबार डोजर प्रयोग गरी हटाएको हो । नगरपालिका क्षेत्रभित्र पर्ने उक्त जग्गामा प्रशासनिक भवन निर्माणमा अवरोध उत्पन्न भएपछि अतिक्रमित संरचना हटाइएको जनाइएको छ ।

नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले अतिक्रमण गरेको करिब दुई कठ्ठा जमिन खाली गराइएको छ । यससँगै अब नगरपालिकासँग सो क्षेत्रमा करिब आठ कठ्ठा जमिन उपलब्ध भएको छ ।
उक्त स्थानमा आधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने योजना रहेको छ । भवन निर्माणका लागि सिपी यतिआलम जेभीसँग ६ करोड ४६ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।
अतिक्रमण हटाउन नगरपालिकाले यसअघि पटक–पटक सूचना जारी गरेको थियो । साथै, चैत १ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच भएको छलफलले चैत १० गतेभित्र संरचना हटाउने सहमति समेत गरेको थियो । तर सहमति कार्यान्वयन नभएपछि सम्बन्धित पक्षले चैत १८ गते जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका थिए ।
अदालतले प्रारम्भमा नगरपालिकाको नाममा निषेधाज्ञा जारी गरे पनि चैत २५ गते सो मुद्दा खारेज गरेको थियो । अदालतको आदेशपछि शुक्रबार प्रहरी प्रशासनको उपस्थितिमा अतिक्रमित संरचना हटाइएको हो ।
वृन्दावन नगरपालिका वडा नं. २ का अध्यक्ष सिकेन्द्र पटेलका अनुसार अब सो स्थानमा प्रशासनिक भवन निर्माण कार्य शीघ्र सुरु गरिनेछ ।
नगरप्रमुख कुर्मीले बारम्बारको आग्रह र सूचनालाई बेवास्ता गरेपछि बाध्य भएर अतिक्रमण हटाउनुपरेको स्पष्ट पार्दै अदालतबाट नगरपालिकाकै पक्षमा निर्णय आएपछि कानुनी प्रक्रिया अनुसार जग्गा खाली गराइएको बताउनुभयो ।
नगरपालिकाका अनुसार लामो समयदेखि अतिक्रमणका कारण रोकिएको प्रशासनिक भवन निर्माण कार्य अब अघि बढ्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्