तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षसँगै राराका होटेलहरू पर्यटकले भरिभराउ, सल्लेरी–माझघट्ट क्षेत्रमा चहलपहल

मुगु। नेपाली नयाँ वर्षको सुरुवातसँगै कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका होटल तथा लजहरू पर्यटकले भरिभराउ भएका छन्।

विशेषगरी सल्लेरी, माझघट्ट तथा सेरोफेराका क्षेत्रहरूमा पर्यटकको चहलपहल अत्यधिक बढेको देखिएको छ।

नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरू रारा पुग्ने क्रम बढेसँगै सल्लेरी र माझघट्ट आसपासका होटेलहरूमा कोठाहरू पर्यटकले  खचाखच भरिभराउ  भएको  पर्यटन व्यवसायीहरूले बताएका छन्। सल्लेरी  र माझ घट्ट रारा पुग्ने मुख्य प्रवेशद्वार तथा बासस्थानका रूपमा विकसित हुँदै गएका कारण यहाँ पर्यटकको चाप बढी देखिएको हो।

स्थानीय होटल सञ्चालकहरूका अनुसार वैशाखको पहिलो हप्तादेखि नै अधिकांश होटेलहरूमा निकै चहलपहल  भएको पाइएको छ ।

पर्यटकहरूले राराको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, स्वच्छ हावा र हिमालको दृश्यले आफूहरूलाई आकर्षित गरेको बताएका छन्। सल्लेरी र माझघट्ट क्षेत्रबाट रारा पुग्न सहज पहुँच, खानपान र बासको राम्रो व्यवस्थाका कारण पनि यी स्थानहरू रोजाइमा पर्ने गरेका छन्।

स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र सेवा सुधारमा जोड दिँदै आएका छन्। यस वर्ष देखिएको पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय व्यवसायमा उत्साह थप्नुका साथै आर्थिक गतिविधि चलायमान बनाएको छ।

नयाँ वर्षसँगै रारा क्षेत्र, विशेषगरी सल्लेरी–माझघट्ट आसपासका होटेलहरूमा देखिएको यो भीडले आगामी दिनमा पर्यटन क्षेत्र अझै फस्टाउने सङ्केत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button