तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जस्थित खाद्य कम्पनीमा २२ हजार क्विन्टल चामल मौज्दात

बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयमा हाल २२ हजार क्विन्टल चामल र ९ हजार ८ सय क्विन्टल धान मौज्दात रहेको छ।

कार्यालय प्रमुख रामसरण लामिछानेका अनुसार गोदाममा स्टीम जिरा मसिनो ६ हजार, अरुवा मसिनो ५ हजार र अरुवा मोटो ११ हजार क्विन्टल चामल स्टकमा रहेको छ। साथै ४ हजार ८ सय क्विन्टल अरुवा मोटो र ५ हजार क्विन्टल अरुवा मसिनो धान कुटाउन बाँकी अवस्थामा मौज्दात रहेको छ।

कम्पनीले गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्दै आएको छ भने माग अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने तयारी गरिएको जनाएको छ।

यस वर्ष चामलको मूल्य समायोजन भई प्रतिक्विन्टल ५ सयदेखि ६ सय रुपैयाँसम्म घटेपछि बजार माग बढेको कम्पनीले जनाएको छ। न्यूनतम खाद्य सुरक्षा मौज्दात कायम गर्नुपर्ने भएकाले पनि स्टक बढेको बताइएको छ।

कर्णाली प्रदेशका डिपोहरूमा चामल पर्याप्त भए पनि मूल्य महँगो भएको गुनासोपछि अरुवा मोटो चामलमा प्रतिक्विन्टल ५ सय रुपैयाँ छुट दिइएको छ। नयाँ वर्षको अवसरमा उक्त छुट लागू गरिएको हो।

कम्पनीका अनुसार बाँकेमा चालु वर्ष २० हजार क्विन्टल धान खरिद गरिएको छ। सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान ३ हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने मूल्य निर्धारण गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button