रुपन्देहीमा आर्थिक अपराध बढ्दै, चैतमा ७२ मुद्दा दर्ता
रुपन्देही ।रुपन्देहीमा एक महिनामा १९९ मुद्दा दर्ता भएका छन् भने २२१ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चैत महिनामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा उल्लेखनीय काम भएको छ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार ज्यानसम्बन्धी १७, आत्महत्या २०, चोरी ९, संगठित तथा आर्थिक अपराध ७२, सामाजिक अपराध ५५, महिला तथा बालबालिका सम्बन्धी ११ र सवारीसम्बन्धी १५ मुद्दा दर्ता भएका छन्।
फैसला कार्यान्वयनतर्फ ९६ जना फरार प्रतिवादी पक्राउ गरी ४२ लाख ४२ हजार १९१ रुपैयाँ जरिवाना असुल गरिएको छ भने २८ वर्ष ७ महिना ५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ।
महिला तथा ज्येष्ठ नागरिकसम्बन्धी ८८ घरेलु हिंसा उजुरीमध्ये ८० मिलापत्र गरिएका छन्। हराएका १०३ जनामध्ये ५५ जना फेला पारिएको प्रहरीले जनाएको छ। लागुऔषधसम्बन्धी १२ मुद्दा दर्ता गरी १९ जना पक्राउ गरिएका छन्।
यातायात दुर्घटनामा १६७ घटनामा १४ जनाको मृत्यु र २६१ जना घाइते भएका छन्। चेकजाँचबाट ५५ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ भने भन्सार छली नियन्त्रणमा २ करोड ६० लाख रुपैयाँभन्दा बढीका अवैध सामग्री बरामद भएका छन्।
प्रहरीले ७० सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ हजारभन्दा बढी नागरिकलाई सहभागी गराएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्