तपाईँ सुन्दै हुनुहुन्छः

नाइजेरियन जोन क्लब खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

नेपालगञ्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, फोर ब्रदर्श एफसी नवलपरासी र जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै नाइजेरियन जोन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलका म्यान अफ द म्याच दुई गोल गरेका नाइजेरियन खेलाडी ताजुदिन अकिनसोलालाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १० हजार रुपैयाँसहित पुरस्कृत गर्नुभयो ।  

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमा खेलाइने प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो । 

प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button