तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको विकासमा जोड: दोस्रो पञ्चवर्षीय योजनामाथि सांसदहरूको छलफल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि सुदूरपश्चिम प्रदेशबाट संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले छलफल गरेका छन् ।

प्रदेश नीति तथा योजना आयोगले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा संघीय राष्ट्रियसभा उपाध्यक्ष लिला भण्डारीले सुदूरपश्चिममा प्रशस्तै कृषि, व्यापार र पर्यटनलगायत क्षेत्रमा विकासका सम्भावनाहरू रहेको बताउनुभयो। उहाँले विकास आयोजनाहरूको कार्यान्वयन र अनुगमनको पक्ष बलियो हुनुपर्ने धारणा राख्नुभयो।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयन गरेरै उच्च आर्थिक वृद्धि गर्न सकिने बताउनुभयो।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका विभिन्न सांसदहरुले सुदूरपश्चिमको दिगो रुपमा विकासका लागि अनुसन्धानमा आधारित आयोजनाहरू सञ्चालन गरिनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

सांसदहरुले विगत पाँच दशक यता सुदूरपश्चिमको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा बढी हुन नसकेको, गरिबी उच्च रहेको, शिक्षाको गुणस्तरमा सुधार नभएकोमा चिन्ता व्यक्त गर्नु भयो। उहाँहरूले सुदूरपश्चिमको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button