तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा एक महिनामा विभिन्न १४६ वटा मुद्दा दर्ता 

भक्तपुर । जिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरि गरेका कार्य सम्पादनहरूको विवरण आज सार्वजनिक गरेको छ । 

जिल्लाको शान्ति सुरक्षा, आपराधिक घटना, ज्यान मुद्दा तथा जनचेतनामूलक रुपमा गरिएका विभिन्न गतिविधिहरूको विवरण सार्वजनिक गरेको हो । 

भक्तपुर प्रहरीका सूचना अधिकारीद्वारा जारी सो विवरण अनुसार चैत महिनामा कुल १४६ वटा मुद्दा दर्ता भएको उल्लेख छ । जसमा ९९ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ९४ पुरुष र ५ महिला रहेका छन् । गम्भीर प्रकृतिका अपराधतर्फ जबरजस्ती करणीका ४, लागूऔषधका १०, डाँका १ र ज्यान मार्ने उद्योगको १ मुद्दा दर्ता भएका छन् ।

यस अवधिमा आर्थिक अपराधको क्षेत्रमा पनि प्रहरीले सक्रियता देखाएको छ। बैङ्किङ कसुरका ७१ र ठगीका ६ गरी कुल ७७ वटा मुद्दा दर्ता भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयनका क्रममा ४४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी १५ लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ भने ३ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति समेत दिलाइएको छ ।

लागूऔषध नियन्त्रणमा पनि भक्तपुर प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ। चैत महिनामा १३ किलो ६८० ग्राम गाँजा, ४ किलो ७५ ग्राम पोल्याण्ड, र ठूलो परिमाणमा विभिन्न फर्मास्युटिकल लागू औषधहरू (ट्रामडोल, नाईट्राजेपाम आदि) बरामद गरिएको छ । 

यसैगरी, भन्सार छली र अवैध तस्करी रोक्ने क्रममा करिब १२ लाख १४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका ४४६ थान ’भेप’ र अन्य सामग्री बरामद गरी ४ जनालाई पक्राउ गरिएको छ ।

सडक सुरक्षातर्फ चैत महिनामा भक्तपुरमा २०३ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्। सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८ सय ८६ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र तीव्र गति रहेको प्रहरीको विश्लेषण छ ।

प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा प्रहरीले ३० वटा उजुरी प्राप्त गरेकोमा सबैको मिलापत्र गराएको छ। साथै, हराएका २३ जनामध्ये १९ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ । घरेलु हिंसासम्बन्धी ७ वटा उजुरीमा पनि मिलापत्र गराइएको सूचना अधिकारी जबेगुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button