राप्ती बगरमा ‘रातो सुन’—भारतीय किसानको मेहनतले बालुवामा फस्टायो तरबुजा खेती

बाँके । मेहनत र पसिनाले बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने भनाइलाई यतिबेला बाँकेको राप्ती नदी किनारले जीवन्त बनाइरहेको छ।
सिदनिया घाटस्थित राप्तीको बगर, जहाँ पहिले उराठ लाग्दो बालुवा मात्रै देखिन्थ्यो, अहिले हरिया बोट र राताम्य तरबुजाले ढाकिएको छ। राप्ती नदीको बगरमा भारतका हरियाणा, दिल्ली र उत्तर प्रदेशबाट आएका झन्डै १० घरपरिवारका किसानहरू यतिबेला तरबुजा खेतीमा व्यस्त छन्। उनीहरूले विगत तीन वर्षदेखि यही बगरलाई आम्दानीको भरपर्दो स्रोत बनाउँदै आएका छन्। तीन महिनामै उत्पादन लिन सकिने यो खेती अहिले बिक्रीको अन्तिम तयारीमा पुगेको छ, र करिब १५–२० दिनभित्र बजारमा तरबुजा पठाइने किसानहरूले बताएका छन्।

हाल राप्ती बगरको करिब ११० बिघा क्षेत्रफलमा फैलिएको तरबुजा खेतीमा करिब ७० लाख रुपैयाँ लगानी भएको छ। बालुवामै यति ठूलो क्षेत्रफलमा गरिएको खेतीले स्थानीय स्तरमै सम्भावनाको नयाँ ढोका खोलेको छ।
भारतीय बजारबाट तरबुजा किनेर नेपालमा बिक्री गर्दै आएका नेपाली व्यापारीहरूले नै यहाँको बगरमा खेती गर्न सकिने सुझाव दिएपछि आफूहरू नेपाल आएको किसानहरू बताउँछन्। भारत उत्तर प्रदेशका किसान बसिल खानका अनुसार दैनिक ज्याला मजदुरीभन्दा तरबुजा खेतीबाट राम्रो आम्दानी हुन्छ। “तीन महिनामै करिब तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो “यहाँको वातावरण र स्थानीय समुदाय पनि सहयोगी भएकाले काम गर्न सहज छ।”
राप्ती नदीको बालुवामा गरिएको यस खेतीले केवल उत्पादन मात्रै होइन, सम्भावनाको उदाहरण पनि प्रस्तुत गरेको छ। भारतीय किसानहरूले तीन महिनामै करिब डेढ करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन गरी नेपालमै बिक्री गर्ने गरेका छन्। यसले नेपाली किसानलाई नयाँ सीप सिकाउने मात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ।

यो उदाहरणले राज्यले यदि आर्थिक रूपमा कमजोर किसानलाई प्रोत्साहन र आवश्यक सहयोग गर्न सके, नेपालमै उत्पादन बढाएर आयात घटाउन सकिने र देशको धन देशमै राख्न सकिने सम्भावना देखाएको छ। साथै, यस्ता कृषिमा आधारित पहलले गरिबी न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्