पर्सा राष्ट्रिय निकुञ्जभित्र नयाँबर्षमा लाग्ने ३ दिने मेला भव्यरुपमा सम्पन्न

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वर महादेव मन्दिरमा नयाँबर्षको अवसर पारेर बैशाख कृष्णपक्ष त्रयोदशीको ३ दिने मेला भव्यरुपमा सम्पन्न भएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि मेलामा स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मानव बस्तीबाट करिब १७ किलोमिटर टाढा, पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको रामभौरी भाठास्थित मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको ३ दिन देखी घुइँचो लागेको थियो ।
मेला भर्न गएका व्यापारी, पसले तथा भक्तजनहरू आजबाट फर्किन थालेका छन् । पटेर्वासुगौली गाउँपालिका बाडा नम्बर–४ का मुकेश गौरोका अनुसार ट्र्याक्टर, जीप, कार तथा मोटरसाइकलमार्फत मेला जानेहरूको चाप अत्यधिक रहेको थियो ।
दुधेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा भक्तजनहरूको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो ।
किसानहरूले गहुँबाली समयमै भित्र्याइ सकेकाले फुर्सदको समय भएको हुँदा मेलामा भीड बढेको उहाँले बताउनुभयो । यस वर्ष ३० भन्दा बढी अष्टजाम समेत आयोजना गरिएको थियो ।
निकुञ्ज प्रशासनले जङ्गल प्रवेशका लागि साँझ ६ बजेसम्म समय तोकेको भए पनि यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै ७ बजेसम्म आवागमनको अनुमति दिइएको समितिले जनाएको छ । सम्भावित भीड व्यवस्थापनका लागि जनपद प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको थियो ।
मन्दिरमा दर्शन गर्न पर्सा, बारा, मकवानपुर, रौतहट, चितवन लगायतका जिल्लाबाट साथै भारतका बिहार र उत्तर प्रदेशबाट समेत हजारौँ भक्तजनहरू आएका थिए ।
यस्तै, मन्दिर आवागमनका लागि विभिन्न मार्गहरू उपलब्ध भए पनि निकुञ्ज प्रशासनले चारभैया नाका मात्र सञ्चालनमा ल्याउँदा उक्त क्षेत्रमा अत्यधिक भिडभाड र ट्राफिक जाम भएको ठोरी गाउँपालिका बडा नम्बर–३ का किशोर तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्