तपाईँ सुन्दै हुनुहुन्छः

झापाको ५ सय बढी निर्माणाधीन योजना प्रभावित हुँदै  

झापा I पेट्रोलियम पदार्थलगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्दा झापाका ५ सयबढी योजना प्रभावित हुने भएका छन् ।

एक साताभित्र मूल्य समायोजन नगरे झापाका निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्ने बताएका छन् । निर्माण व्यवसायी संघ झापाले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यबृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन व्यवसायीहरूले माग गरेका हुन् ।

झापाको बिर्तामोडमा रहेको सङ्घको भवनमा आज आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामग्रीमा अत्यधिक मूल्यबृद्धिले निर्माण उद्योग दिन प्रतिदिन धरासायी बन्दै गएको कारण ‘आपतकाल’ घोषणा गरी सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘डिजेल, पेट्रोले, मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यबृद्धिले साथै नदीजन्य निर्माण सामग्रीहरू खोलाबाट निकाल्न नपाउनु, व्यक्तिगत जग्गाबाट खरिद गरिएका ढुङ्गा, गिटी, बालुवा ओसारपसारमा स्थानीय निकाय र सुरक्षा निकायको धरपकड हुनाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ झापा, नेपाल सरकारसहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

त्यसै गरी इन्धनजन्य सामग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डी लगायत नदीजन्य निर्माण सामग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको सङ्घले जनाएको छ । 

अहिलेको चर्को मूल्यवृद्धिको माग थेग्न नसक्ने भएकाले काम रोक्न आफूहरू बाध्य भएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button