तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १३ हजार २ सय ५७ घरधुरी बाढीको उच्च जोखिममा

बाँके । बाँके जिल्लामा यस वर्ष बाढीबाट १३ हजार २ सय ५७ घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ अनुसार जिल्लाका आठ स्थानीय तहका ५२ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् ।

उक्त तथ्याङ्कअनुसार बाढीका कारण ६५ हजार ४ सय ४२ जना जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । जिल्लामा बाढीलाई मुख्य प्रकोपका रूपमा पहिचान गरिएको छ । 

योजनामा समेटिएको विवरणअनुसार बाढीको सबैभन्दा बढी जोखिम राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिका मा रहेको छ । राप्तीसोनारीका ९ वटै वडाका ३ हजार २ सय ७९ घरपरिवारका १७ हजार ६ सय ९५ जना प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी डुडुवा गाउँपालिकाका ६ वटा वडामा ३ हजार ८ सय ८२ घरधुरीका १९ हजार ८ सय ५२ जना प्रभावित हुने अनुमान गरिएको छ ।

अन्य स्थानीय तहमा पनि बाढीको जोखिम देखिएको छ । तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिकाका २ वडा मा ५ सय १० घरधुरी, कोहलपुर नगरपालिकाका ७ वडा मा २ हजार ३४ घरधुरी, नरैनापुर गाउँपालिकाका ६ वडा मा ३ सय ९१ घरधुरी, बैजनाथ गाउँपालिकाका ८ वडा मा १ हजार ५ सय ४० घरधुरी, खजुरा गाउँपालिकाका ८ वडा मा १ हजार ४ सय ९५ घरधुरी तथा जानकी गाउँपालिकाका ६ वडा मा ३ सय २६ घरधुरी प्रभावित हुने अनुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाँकेमा बाढी, आगलागी, शितलहर, हावाहुरी, लू, महामारी, सुख्खा खडेरी, डुबान, सडक दुर्घटना तथा फौजी किराको प्रकोपबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको छ ।

विगतका विपद् घटनाको विश्लेषणका आधारमा तयार गरिएको योजनाले जिल्लाभर विभिन्न विपद्बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने आँकलन गरेको छ ।

उक्त योजना अन्तर्गत ८ वटा विषयगत क्षेत्रको प्रतिकार्य योजना र प्राथमिकतासहितका पूर्व तयारीका कार्यक्रम समेटिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button