तपाईँ सुन्दै हुनुहुन्छः

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

काठमाडौँ । सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ । 

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै  वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताउनुभयो । 

उहाँका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उहाँको भनाइ छ । 

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताउनुभयो । “हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।” 

आव २०८१÷८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०÷८१ मा १४ प्रकारका, आव २०७९÷२०८० र आव २०७८÷२०७९  मा १५ प्रकार, आव २०७७÷०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो । 

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु(याइएको बताउनुभयो ।

वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button