मिथिलाञ्चलमा प्रकृति संरक्षणको सन्देश सहित जूडशीतल पर्व मनाइँदै
जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ जुडशीतल पर्व मनाईदैछ । नयाँ वर्षमा तयार पारिएका खानेकुरा कूल देवतालाई अर्पण गरेर स–परिवार खाने चलन रहेको छ ।

आजको दिनमा प्रकृति र मानव बीचको गहिरो सम्बन्धलाई दर्साउँदै बिहान तीर घरका मान्यजनले घरका हरेक सदस्यहरूको टाउकोमा शीतल पानी आजुरले राखेर वर्ष भरि शीतलताको कामनासहित आशिष दिने प्रचलन रहेको छ ।
यसका साथै घर आँगन, बारी तथा सार्वजनिक स्थलमा भएको बोटबिरुवालाई सिँचाइ गर्नुका साथै सडकमा पानी राख्ने चलन पनि रहेको छ । बढ्दो तापक्रमले मानव र प्रकृतिको संरक्षणका लागि एकले अर्कोलाई संरक्षण गर्नुपर्ने गहिरो सन्देश जूडशीतल पर्वले दिने गरेको छ । मानव र बोटबिरुवा एक अर्काको पुरक भन्ने सन्देश पर्वले दिने गर्दछ ।
यसका साथै आज शरीरमा माटो दलेर पर्व मनाउने चलन रहेको छ । मानव शरीरका लागि गुणस्तरीय माटोको लेप स्वास्थ्यका लागि लाभदायक हुने आयुर्वेदले प्रमाणित गरेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. महारुद्र ठाकुरले बताउनुभयो । अहिले यो परम्परा लोप हुन लागेकाले यसका संरक्षणका लागि जनकपुरधामका केही संस्था तथा युवाहरूले अग्रसरता लिएका छन् ।
जनकपुरधामको गंगासागर तथा अंगराजसर क्षेत्रमा जुडशीतलको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह सहभागी रहनुभएको थियो ।
यसका साथै आज विभिन्न खाद्यान्नका परिकारहरू तयार पारेर खाने तथा खुवाउने चलन रहेको छ । हिजो मात्र मिथिलामा सातुवाईन पर्व सम्पन्न भएका थिए । यस दिन चना, गहुँ वा जईले तयार पारिएको सातु खाने र दान दिने काम गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्