तपाईँ सुन्दै हुनुहुन्छः

सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागु

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज सहितका सीमा नाकाहरूमा भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल आयात गरिने सामग्रीमा नेपाल सरकारले भन्सार बापतको कर लगाएको छ । परिष्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यस अघि सीमानाका क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य गरिएको थिएन ।

सीमा नाकाहरूमा गरिएको कडाइले वीरगन्ज लगायतका नेपाली बजारलाई राहत मिल्ने भएको छ । २०८२ जेठ १५ मा परिष्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधा अन्तर्गत यस्तो नियम आएको भए पनि यसको कार्यान्वयन नहुँदा नेपाली उद्योगी/व्यापारी र बजार मर्कामा परेको गुनासो वीरगन्ज सहितका उद्योगी व्यवसायीहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग गरेसँगै यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको हो । 

पर्सा सहित मधेश प्रदेशको ८ वटै जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले माइकिङ गरी एकसय रुपैयाँभन्दा बढी मूल्य बराबरको सामग्री भारतीय बजारबाट नेपाल ल्याइएमा भन्सार वापतको शुल्क अनिवार्य रुपमा बुझाउनुपर्ने भन्दै सर्वसाधारणमा सचेत गराएको छ । 

वीरगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार अब भारतीय बजार रक्सौल लगायतका सिम क्षेत्रका बजारहरूबाट किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुको अनिवार्य भन्सार घोषणा गर्नुपर्ने भएको छ । अहिले नेपाली उपभोक्ताहरू स्थानीय बजार छोडेर भारतीय सीमा बजारहरूमा आकर्षित भएपछि सीमा क्षेत्रका नेपाली बजारहरू सुनसान भएसँगै नेपालमा परेको असर कम गर्न यस्तो नियमन थालिएको छ । 

वीरगन्ज भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी उदय सिंह बिष्टले बिहे, व्रतबन्ध, दशैं, तिहारको किनमेल गर्न समेत भारतीय बजारमा काठमाडौँ देखिका उपभोक्ताहरू आउने क्रम बढेको र यसलाई नियन्त्रित गर्न भन्सार नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको बताउनुभयो । 

कर तिरेर पसल सञ्चालन गर्ने नेपाली व्यापारीको पसल नचल्ने तर भारतीय बजार गुल्जार हुने प्रवृत्ति रोक्न पनि यो नियममा कडाइ थालिएको बिष्टले बताउनुभयो । 

सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै अव नेपाली व्यवसायीलाई राहत पुग्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button