दुर्गम क्षेत्रमा सेवा विस्तार: कोल्टीमा प्रशासन, मालपोत र नापी सेवा सुरु
बाजुरा। बाजुराको दुर्गम उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गर्दै कोल्टीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले एक औपचारिक कार्यक्रमका बिच हिजो (मङ्गलवार)उक्त कार्यालयको उद्घाटन गर्नुभएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार इलाका प्रशासन कार्यालयसँगै मालपोत र नापी सेवा केन्द्रको पनि संयुक्त रूपमा उद्घाटन गरिएको छ । बुधबार (आज) देखि यी कार्यालयहरूबाट नियमित सेवा प्रवाह सुरु गरिने जनाइएको छ । उहाँका अनुसार प्रारम्भिक चरणमा नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालनमा ल्याइनेछ । हाल इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिनेछ भने स्वीकृत दरबन्दी छ जना रहेको छ । सीमित जनशक्तिका बाबजुद मालपोत र नापी सेवा केन्द्रमार्फत समेत सेवा सुरु गरिएको प्रजिअ निरौलाले बताउनुभयो।

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै बाजुराको पुर्वोत्तरी भेग स्थित चार स्थानीय तहका नागरिक निकै उत्साहित भएका छन् । यसअघि सामान्य प्रशासनिक कामका लागि समेत जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता थियो । विशेषगरी नागरिकता बनाउनका लागि मात्रै पनि करिब १५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने स्थानीयको बाध्यता रहेको थियो । कोल्टीमै प्रशासन, मालपोत तथा नापी सेवा उपलब्ध हुने भएपछि समय, खर्च र श्रमको बचत हुने विश्वास गरिएको छ । स्थानीयवासीका अनुसार यस कदमले दुर्गम क्षेत्रको विकासमा टेवा पुर्याउनुका साथै सरकारी सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता सेवा केन्द्र विस्तार गर्दै आएको छ । कोल्टीमा स्थापना गरिएको यो संरचना त्यसैको एक महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्