‘सार्वजनिक स्थल तथा सम्पत्तिको संरक्षण अभियान मधेशका सबै पालिकामा चलाइन्छ’
जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जनकपुरधामबाट शुरु भएको सार्वजनिक स्थलको संरक्षण गर्ने अभियान मधेश प्रदेशका सबै पालिकाहरूमा सञ्चालन हुने बताउनुभएको छ ।

मधेश भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनकपुरधामबाट शुरु भएको स्वच्छ, सफा तथा सुन्दर शहर निर्माणको अभियान मधेश प्रदेशका १३६ पालिका एवं शहरहरुमा सञ्चालन गरिने बताउनुभयो ।
उहाँले चैत्र २७ गते जनकपुरधाममा ८ जिल्ला प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वय बैठकमा सबै स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्तिको रक्षा तथा अतिक्रमण हटाउने र सफा बनाउने विषयमा सुरक्षा निकायहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँले प्राचीन मिथिलाको राजधानीको रूपमा परिचित जनकपुरधाममा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि गरेर यस क्षेत्रको आर्थिक विकासको व्यापक सम्भावना व्यापक रहेको बताउनुभयो ।
गृहमन्त्री महतोले प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको जानकारी दिँदै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्