तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षमा एकता र आत्मसमीक्षा जरूरी : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले नयाँ वर्षले विगतका निराशा र अवरोधहरू हटाउँदै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, पछिल्लो प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिप्रतिको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै यसलाई गम्भीर समीक्षाको विषय बनाउनुपर्ने धारणा उहाँकाे छ ।

उहाँले निर्वाचन परिणामको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीभित्र एकता, अनुशासन र आपसी विश्वास सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई ध्यानमा राख्दै जनमुखी कार्यक्रम र कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

भण्डारीले नयाँ पुस्ताको सहभागिता, नवीन सोच र प्रविधिको प्रयोगमार्फत राजनीतिक दलहरूले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनुभयो। भण्डारीले चुनौतीपूर्ण परिस्थितिमा समर्पण, एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्न सबैमा आह्वान गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button