तपाईँ सुन्दै हुनुहुन्छः

‘एचआईभी एड्स नियन्त्रण गर्न भेदभाव र लाञ्छना चुनौती’  

मकवानपुर । मकवानपुरमा एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि सङ्क्रमितमाथिको सामाजिक लाञ्छना र भेदभाव चुनौतीका रुपमा देखिएको छ । एचआइभी सङ्क्रमितहरू उपचारको दायरामा आए पनि उनीहरूले भोग्नुपरेको सामाजिक लाञ्छना र भेदभाव अझै प्रमुख चुनौतीका रूपमा देखिएको हो । 

हेटौँडामा सोमबार आयोजित ‘एचआइभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि सचेतनासँगै विभेदको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले रोगले भन्दा पनि समाजको तिरस्कारपूर्ण व्यवहारले सङ्क्रमितलाई बढी पीडा दिने गरेको बताउँदै ’शून्य विभेद’ को नीति व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

“२० वर्ष भयो, हामीले लाञ्छना र भेदभावका विषयमा सुनेको तर, आज पनि अवस्था जस्ताको त्यस्तै छ, समुदायमा भन्दा पनि अहिले अस्पतालमा बढी विभेद हुने गरेको छ, भनेका कुरा व्यवहारमा लागु हुनुपर्यो ।“ एक सहभागीले भन्नुभयो । एचआइभी सङ्क्रमितका लागि औषधिको पहुँचसँगै सामाजिक स्थायित्व हुनुपर्नेमा जोड दिँदै सहभागीहरूले समाजमा व्याप्त स्व–लाञ्छना र भेदभावका कारण सङ्क्रमितहरू हीनताबोध गर्ने, अवस्था लुकाउने र उपचार बीचमै छोड्ने जस्ता समस्या आउने गरेको औँल्याएका छन् । 

कार्यक्रममा मकवानपुर एआटी सेन्टरका काउन्सिलर अमृत लामिछानेले जिल्लाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार जिल्लामा हाल १९३ जना पुरुष, १४२ जना महिला र ३ जना तेस्रो लिङ्गी गरि कुल ३३८ जना एचआइभी सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । जिल्लामा नयाँ सङ्क्रमितको संख्या घट्दो क्रममा रहे पनि बिचमै उपचार छाड्ने बढ्दै गएको समेत उहाँले बताउनुभयो । सामाजिक डर र नकारात्मक सोचका कारण कतिपय सङ्क्रमितहरू समयमा परीक्षण तथा उपचारमा नआउने, औषधि बीचमै छोड्ने समस्या देखिएको उहाँले बताउनुभयो । 

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख सूर्य तिवारी लगायत करिब ५० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button