तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

पाटन (ललितपुर) । भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था किन इन्डिया दिल्लीको सह आयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक संस्था किन इन्डियाका ग्लोबल एम्बेस्डर सगरमाथा आरोही कल्पना महर्जनले दिएको जानकारीअनुसार भारतमा रहेका नेपाली श्रमिकहरूलाई  श्रमसम्बन्धी कानुन र मानव बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि भारतको आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दूतावासले प्रदान गर्ने सेवा र सहयोगबारे जानकारी गराउनुभएको महर्जनले बताउनुभयो । 

राजदूत डा शर्माले भारतमा विभिन्न ठाउँमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि दूतावासले किन इन्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको बताउनुभएको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैङ्क खाता, नो अब्जेक्सन लेटरलगायत विषयमा नेपाली श्रमिकहरूका समस्या समाधानका लागि दूतावासले सदैव श्रमिकको पक्षमा काम गरिरहेको जानकारी गराउनुभएको थियो । 

यसैगरी, दूतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानुन पालना गर्न नेपाली समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button