सुर्यबिनायक नगरपालिकामा निःशुल्क भलिबल प्रशिक्षण सुरु

भक्तपुर । भलिबलमा नगर क्षेत्रबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका भक्तपुरको सुर्यविनायक नगरपालिकामा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सुर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा भलिबल खेल मैदानमा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।
सुर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई आधारभूत प्रशिक्षण दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका छनौटमा परेका ३० जना भलिबल खेलाडीको सहभागिता रहेको सदस्य सचिव थापाले बताउनुभयो ।
युवा पुस्तामा भलिबल खेलप्रति आकर्षक बढाउने र भलिबल खेलको विकासका लागि नगरपालिकाले योगदान गर्ने नगर प्रमुख वासुदेव थापाको लक्ष्य अनुरूप नगरपालिकाकै सहयोगमा प्रशिक्षण सुरु गरेको सदस्य सचिव थापाले बताउनुभयो । यो प्रशिक्षणले जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा समेत तयारी पुग्ने भएको छ ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सुर्यविनायक नगरपालिका– ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भौतिक पूर्वाधार, विकास निर्माणसँगै सुर्यविनायक नगरपालिकाले खेलकुद क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको बताउनुभयो ।
खेल क्षेत्रबाट समेत नगरपालिकालाई मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन नगर पालिकाले योजनाबद्ध रूपमा काम गरिराखेको बस्नेतको भनाई थियो ।
सो अवसरमा वडाध्यक्ष बस्नेतले नगर खेलकुद विकास समितिका तर्फबाट सुर्यविनायक यूथ क्लबलाई खेलकुद सामाग्रीसमेत प्रदान गर्नुभयो । त्यस क्रममा भलिबल १५ थान, नेट, लगायतका खेल सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्त वैध, सुर्यविनायक यूथ क्लबका अध्यक्ष मनोज गिरी, गाम्चा यूथ क्लबका अध्यक्ष सचिन्द्र खड्का, सुर्यविनायक नगर खेलकुद समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्