तपाईँ सुन्दै हुनुहुन्छः

फोटो/भिडियो खिचेरै आत्मनिर्भर बन्ने बाटोमा बाजुराका २ युवा

बाजुरा । पछिल्लो समय रोजगारीको खोजीमा ठूलो सङ्ख्यामा युवा विदेशिन बाध्य भइरहेका बेला बाजुराका दुई युवाले भने आफ्नै गाउँमै बसेर उदाहरणीय काम गर्दै आत्मनिर्भर बन्ने सन्देश दिएका छन्।

गौमुल गाउँपालिका–१ का २५ वर्षीय अभिषेक सार्की र २३ वर्षीय बिक्रम रोकाया फोटो तथा भिडियो खिच्ने पेशामार्फत राम्रो आम्दानी गर्दै आत्मनिर्भर बन्न सफल भएका छन्। पढाइसँगै सानो रूपमा सुरु गरेको उहाँहरूको काम अहिले दैनिक जीवनको मुख्य आधार बनेको छ। सदरमुकाम मार्तडी नजिकै पर्ने साफे–मार्तडी सडकखण्डको कराला क्षेत्रमा उहाँहरूले आफ्नो कार्यस्थल बनाउनुभएको छ। दैनिक बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्म फोटो र भिडियो खिच्न व्यस्त उहाँहरूले एउटा फोटो खिचेको २० रुपैयाँ र भिडियो बनाएको ५० रुपैयाँ लिने गरेका छन्। यसबाट दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ भने मासिक आम्दानी ३० हजार रुपैयाँभन्दा बढी पुग्ने गरेको उहाँहरूको भनाइ छ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले यो काम सुरु गरेका हौँ,” बिक्रम रोकायाका अनुसार “सुरुमा चुनौती थियो, तर अहिले बिस्तारै राम्रो हुँदै गएको छ।”

यद्यपि, फोटो तथा भिडियो खिच्न उपयुक्त स्थान र व्यवस्थित सेटअपको अभाव अझै चुनौतीकै रूपमा रहेको रोकाया बताउनुहुन्छ। “यदि राम्रो सेटअप र आकर्षक स्थान भए अझै राम्रो काम गर्न सकिन्थ्यो र आम्दानी पनि बढ्थ्यो,” रोकायाले बताउनुभयो ।

अहिले दैनिकी नै फोटो र भिडियो खिच्ने काममा केन्द्रित छ। पढाइलाई निरन्तरता दिँदै सिर्जनात्मक काममार्फत आम्दानी गरिरहेका यी युवाले अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।

बाजुराका अभिषेक र विक्रमले देखाएको यो पहलले इच्छाशक्ति, मेहनत र सृजनशीलता भए आफ्नै ठाउँमा बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button