तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा घट्यो वन डढेलो: सतर्कता र वर्षाको साथले हरियो बन जोगिँदै 

स्याङ्जा । डाँडाकाँडा धुवाँले ढाकिने र जङ्गल डढेर रातै हुने दृश्य स्याङ्जाका लागि हरेक वर्षको चैत वैशाखमा सामान्य जस्तै थियो तर यसपालि भने अवस्था फरक देखिएको छ । वन डढेलोका घटना उल्लेखनीय रूपमा घटेका छन् र बनहरू हरियालीमै जोगिन थालेका छन् ।

डिभिजन वन कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० मा झण्डै ४९७ दशमलव २ हेक्टर वन डढेलोबाट प्रभावित भएको थियो । तर २०८१ मा यो क्षेत्र घटेर जम्मा २४ हेक्टरमा सीमित भएको छ । चालु वर्षमा पनि आँधिखोला गाउँपालिकाको राम्चे क्षेत्रमा लागेको सामान्य डढेलो बाहेक अन्यत्र ठुलो क्षति नभएको जनाइएको छ ।

फागुन चैतको सुख्खा समयमा समेत परेको वर्षाले वन क्षेत्र हरियाली राख्न सहयोग पुगेको छ । साथै कार्यालयले सञ्चालन गरेका जनचेतना मूलक कार्यक्रम, डढेलो नियन्त्रणका पूर्वतयारी तथा स्थानीयको सक्रियताले समेत डढेलो न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत सन्तोष पोखरेलले  बताउनुभयो ।

पतझरका कारण सुख्खा  हुने स्याङ्जाका पाखा पखेरामा यस वर्ष वन विनाश न्यून हुँदा जिल्लाभर रहेका ५२५ सामुदायिक वनहरू सुरक्षित रहन सफल भएका छन् । “हरियो वन, नेपालको धन” भन्ने नाराले व्यवहारमै सार्थकता पाउँदै गएको महसुस गरिएको छ ।

यद्यपि, फागुनदेखि वैशाखसम्मको समय अझै पनि डढेलोको दृष्टिले संवेदनशील मानिने भएकाले थप सतर्कता आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । हालसम्मको उपलब्धिलाई निरन्तरता दिन सके स्याङ्जा अन्य जिल्लाका लागि उदाहरणीय बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button