भक्तपुर अस्पताल बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने तयारीमा

भक्तपुर । भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । विविध भाषाभाषीका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले यो सेवा शुरु गर्ने भएको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पहिलो चरणमा नेवारी र तामाङ भाषालाई व्यवहारमा ल्याइने बताउनुभयो ।
बागमती प्रदेश सरकारले यी दुई भाषालाई सरकारी कामकाजको भाषा बनाइसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अस्पतालमा आउने सेवाग्राहीलाई उनीहरूकै भाषामा सेवा दिँदा अपनत्व बढ्ने बताउनुभयो ।
बागमती प्रदेश सरकार मातहत सञ्चालित अस्पतालमा प्राविधिक र अप्राविधिक सबै स्टाफलाई स्थानीय भाषाको ज्ञान र प्रयोगको प्रभावकारिताबारे कक्षा सञ्चालन गरी बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
बहुभाषिक स्वास्थ्य सेवाबाट बिरामीले आफ्नो समस्या स्पष्ट भन्न सक्ने र रोग पहिचान तथा उपचारमा सहज हुने अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टको भनाई छ । यसले बिरामी र स्वास्थ्यकर्मीबीचको संवाद र सम्बन्धलाई समेत सुमधुर बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर अस्पतालमा दिनहुँ करिब १ हजार बढी बिरामी उपचार गर्न आउने गरेका छन् ।
भक्तपुर अस्पताल वीर अस्पताल पछिको उपत्यकाकै दोस्रो जेठो अस्पताल हो । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा लगातार तीन वर्ष देखि सर्वोत्कृष्ट रहन सफल रहेको छ । प्रदेश सरकार मातहत जानु अघि ७५ शय्याको अस्पताल हाल १ सय ८८ शय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालनमा रहेको छ भने अस्पताललाई ३ सय शय्यामा बिस्तार गर्ने प्रदेश सरकारले घोषणा गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्