प्राध्यापक सम्मेलनको उद्घाटन र बृहत् ग्रन्थको लोकार्पण
काठमाडौँ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शङ्ख ध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले नरेन्द्रराज प्रसाईँ तथा इन्दिरा प्रसाईँको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको पनि लोकार्पण गर्नुभयो ।
समारोहमा डा.त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधन स्रोतमा आयोजित ऐतिहासिक तीन दिने महान् सम्मेलनमा नै प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थ समेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताउनुभयो ।
रोयल साइजमा ८७२ पृष्ठमा विस्तारित भई पूर्ण बनेको सो ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालय बारेका २५ ओटा आलेख आबद्ध रहेका छन् ।
नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित त्रि दिवसीय सम्मेलनको दोस्रो दिनको समारोहमा प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले सम्मेलनबारे आआफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।
सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा.त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य प्रकट गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्