तपाईँ सुन्दै हुनुहुन्छः

जनताको रक्षामा सुरक्षा निकायको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनताको जीउ धनको सुरक्षाका लागि सुरक्षा निकायले गरेको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । 

मधेश प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री यादवले नेपालको निर्वाचन इतिहासमै सबैभन्दा शान्तिपूर्ण र भयरहित रुपमा गत फाल्गुण २१ गतेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनमा सुरक्षा निकायले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो ।

उहाँले सुरक्षा निकायलाई साधन श्रोतले सम्पन्न बनाउनका लागि मधेश सरकारले सक्दो सहयोग गरेको र भविष्यमा गरिरहने बताउनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेश सरकारको गृह मन्त्रालयले भएको थोरै बजेटमा धेरै बजेट प्रहरीको पूर्वाधार निर्माणमा खर्च गर्ने काम गर्दै आएको बताउनुभयो । उहाँले मधेश प्रदेश सरकारले मधेश प्रहरीलाई देशकै उत्कृष्ट प्रहरी बनाउने पक्षमा रहेको बताउँदै सङ्घमा बनेको नयाँ सरकारले प्रहरीको समायोजनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री यादव तथा गृहमन्त्री महतोले गत फाल्गुण महिनामा सम्पन्न भएको प्रतिनिधि सभा चुनावमा शान्ति सुरक्षा स्थापनामा उत्कृष्ट भूमिका निर्वाह गर्नुभएका मधेश प्रदेशका विभिन्न जिल्ला तथा प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको मधेशका गृह सञ्चार मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले जानकारी दिनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button