उदयपुरमा प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता सम्पन्न
उदयपुर । उदयपुरको वेलका नगरपालिका–८ बोप्ताङमा आयोजित ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता २०८२’सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताले उदयपुरको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै हवाई खेलकुदको क्षेत्रमा नयाँ उत्साह थपेको आयोजकले जनाएको छ ।

चैत २६ र २७ गते सञ्चालन भएको प्रतियोगितामा नेपाल तथा भारतका अनुभवी पाइलटहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाबिच आठ राउन्डसम्म भएको खेलमा भारतका पाइलट अलिसार रम्तेल र नेपालका विष्णु तिम्सिना समान ४४–४४ अंक प्राप्त गर्दै संयुक्त रूपमा प्रथम हुनुभयो । उहाँहरूको सटिक अवतरण क्षमता र स्थिर उडानले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो ।
त्यस्तै प्रतियोगितामा सुमन जंग थापा द्वितीय र पवन परियार तृतीय स्थान हासिल गर्न सफल हुनुभयो ।
महिलातर्फ भारतकी सियन्सी तामाङ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल हुनुभयो । महिला सहभागिताले प्रतियोगितामा थप उत्साह र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ्ग संघ जिल्ला समिति उदयपुरको आयोजनामा तथा कोशी प्रदेश पर्यटन कार्यालय धरानको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
प्रतियोगिताभर ४ जना विदेशी पाइलटसहित ३५ जना प्रतिस्पर्धीले बोप्ताङबाट कुल २८० वटा उडान भरेका थिए ।
प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता विशेष प्रकारको हवाई खेलकुद हो, जसमा पाइलटहरूले आकाशबाट उडान भरेर जमिनमा तोकिएको निश्चित बिन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन् भन्ने आधारमा अंक प्रदान गरिन्छ । प्रतियोगिताको नियमअनुसार प्रत्येक पाइलटले तोकिएको स्थानबाट अधिकतम ८ पटकसम्म उडान भरेर लक्ष्य बिन्दुमा अवतरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्